
काठमाडौं ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ ।
बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी नेपाल सरकारको निर्णयअनुसार विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
सरकारका अनुसार यी निर्णयहरू सम्बन्धित मन्त्रालय र निकायमार्फत कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ ।






